काठमाडौं । सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार मदन भण्डारी स्र्पोटर्स एकेडेमीका पूर्व अध्यक्ष सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेका हुन्।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ गते सकिएपछि सो पद रिक्त रहेको थियो। नवनियुक्त सदस्य सचिव सिलवालले सोमबारनै पद तथा गोपनियतको सपथ लिएका हुन्।
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आफ्नै मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
सपथ ग्रहण पछि संचारकर्मीसँगै कुरा गर्दै नवनियुक्त सदस्य सचिव सिलवालले चार महिना भित्र सम्पन्न गर्नुपर्ने दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको चुनौतिलाई सामना गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे।
उनले नेपालको खेलकुद क्षेत्रलाई राष्ट्रको प्रतिष्ठासँग जोडेर अघि बढाउने योजना पनि सार्वजनिक गरे। तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष समेत भईसकेका सिलवाल प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्। उनले आफूलाई सो पदको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री ओली र मन्त्री विश्वकर्माप्रति आभार पनि व्यक्त गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
