काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। असोज १६ गते काठमाडौंमा हुने उद्घाटन समारोहका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेलाई औपचारिक निमन्त्रणा गरिएको हो।
कांग्रेसका सहमहामन्त्री तथा महाधिवेशन सचिवालय व्यवस्थापन एवं सूचना समन्वय समितिका संयोजक उदय शमशेर राणासहितको टोलीले शुक्रबार तीनै नेताको निवासमै पुगेर निमन्त्रणापत्र हस्तान्तरण गरेको जनाएको छ। कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँगै छिमेकी मुलुकबाट समेत अतिथि आमन्त्रण गर्ने तयारी गरेको जनाएको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुने कार्यतालिका छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
