काठमाडौँ । इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबविरुद्ध तीन विकेट लिएका छन्।
पञ्जाबविरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए। टिमको दोस्रो तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए। तर त्यसपछि डट फालेका सन्दीपले तेस्रो बलमा चौका खाए। चौथो बलमा सन्दीपले टिमका लागि पहिलो सफलता दिलाए। उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए। त्यसपछि उनले बाँकी दुई बलमा एक रन मात्र दिए।
पहिलो ओभरमा ११ रन दिएका सन्दीपले दोस्रो ओभरमा १६ रन दिए। उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे।
टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले दुई विकेट लिए । पहिलो बलमा नै उनले छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । लगभग छक्का भएको त्यो बललाई कोलिन इन्ग्राम र अक्षर पटेल मिलेर गेललाई आउट गरेका थिए । त्यसपछि सन्दीपले साम कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे।
सन्दीपले आफ्नो अन्तिम ओभरमा ७ रन दिए । सन्दीपको अन्तिम बलमा पञ्जाबका मन्दीप सिंहको क्याच कागिसो रबाडाबाट ड्रप भयो। चार ओभर बलिङ गरेका सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै ४० रन खर्चिए।
४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका उनी सो खेलमा स्टाईलिस प्लेयर अफ द म्याचको अवार्डबाट सम्मानितसमेत भए । आईपीएलका कुनै खेलमा सन्दीपले अवार्ड पाएको यो पहिलो पटक हो । उनले अवार्डमा एक लाख नगद (भारु) र ५ ट्रफि पाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
