विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गर्नुभएको हो।
यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु एक लाख तथा विराटनगर महानगरपालिकाले रु ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ।
यसैगरी एन्फाले आर्थिक वर्ष २०७५/७६ का लागि रु २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी गराउनुभयो।
उहाँले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत दिनुभयो। विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारीसबैको काँधमा आएको उहाँको भनाइ थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
