विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन्।
साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन्।
समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए।
नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन्।
भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताए। उनले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गरे।
भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताए। समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
