विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सहज जित हात पारेको छ र समूह एको विजेता बनेको छ।
विराटनगरको शहिद रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा आत्मविश्वाससँगै फेरि बराबरीमा रोकिनु पर्ने त होइन भन्ने डर थियो।
पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो। तर, पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ३-० को सहज जित निकालेको छ।
नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो। अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन्।
यसअघि सावित्रा भण्डारी वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकेकी थिइनन्। दर्शकको साथ पाएको नेपालले १०औं मिनेटमा अर्को गोल गर्ने अवसर खेल फाल्यो। कप्तान निरु थापा वान भर्सेस् वानमा गोल गर्न चुकिन।
तर, २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन्। पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल ३-० गोलको अग्रतामा रह्यो।
नेपालले दोस्रो हाफमा भने पहिलो हाफको खेल दोहोर्याउन सकेन । पहिलो हफमा मिडफिल्ड निकै उत्कृष्ट देखिएको थियो तर, दोस्रो हाफमा सुस्तायो भने फरवार्ड लाइनका खेलाडी पनि चल्न सकेनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
