काठमाडौँ । यूएईविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल २१ रनले पराजित भएको छ।
यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो। नेपालले सुरुआत भने राम्रो गर्न सकेन।
पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपाल सुरुमै दबाबमा आयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर टिक्न सकेनन् । उनी ४ रनमा आउट भए ।
ओपनिङका कप्तान पारस र सन्दीप जोराले नेपाली टिमलाई उकास्ने प्रयास गरे पनि पारस २५ रन बनाएर आउट भए । पाँचौ खेलाडीको रुपमा मैदान आएका सन्दीप जोराले एक छेउबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए पनि अन्य खेलाडीबाट साथ पाउन सकेनन्।
सन्दीप जोरा ५३ रन बनाएर अन्तिमसम्म टिकेका थिए । रोहित पौडेल र करण केसी समान चार(चार रनमा आउट भएपछि क्रिजमा आएका सोमपाल कामी १९ बलमा २७ रन बनाउँदै आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । युएईका लागि शैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । युएईले ३ रन बनाएको अवस्थामा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
