लुगा त थरीथरीको लगाइन्छ, तर आफैलाई सुहाएको जस्तो लाग्दैन । ज्यान भद्दा भएर हो वा लुगा नमिलेर ? भेउ पाउन सकिदैन ।
आफैलाई आफ्नो पहिरन असुहाउँदो लागेपछि हिनताबोध हुन्छ । आत्माविश्वास हराउँछ । ‘अरुले केही भन्लान् कि ?’ यस्तो आशंकाले मनमा ग्लानी पैदा हुन्छ । भनौं, असुहाउँदो पहिरनले मानसिक तनाव दिन्छ ।
यस्तो समस्या दुई कारणले हुन्छ । एक त आफ्नो ज्यान नै असुहाउँदो हुँदा । अर्को, पहिरनको उचित छनौट गर्न नसक्दा ।
ज्यान अर्थात शरीर भनेको प्राकृतिक कुरा भयो । यसको लम्बाई, चौडाई मिलाउन गाह्रै हुन्छ । मिलाउने भनेको पहिरन नै हो । तर, कसरी मिलाउने ?
यसको पनि काइदा छ । शरीर चाहे मोटो होस् वा पातलो । अग्लो होस् वा होचो । यी चिन्ताको विषय होइन । बरु आफ्नो ज्यान अनुरुप कसरी पहिरन छनौट गर्ने र कसरी लगाउने भन्ने कुरा मूख्य हो । फेसनविज्ञहरु भन्छन्, ‘शरीर अनुसार सुहाउँदो पहिरन छनौट गर्न सक्नुपर्छ, जस्तोसुकै शरीरमा आकर्षक देखिन्छ ।’
अहिले जमना स्लिमको छ । झट्ट हेर्दा छरितो र फूर्तिलो देखिने । फेसनविज्ञहरुले पहिरनकै काटछाँट मिलाएर स्लिम देखिने उपाय पनि सुझाएका छन् । के हो त ति उपाय ?
कसरी देखिने स्लिम ?
महिलाहरु प्राय स्लिम देखिन चाहन्छन् । स्लिम देखिनकै लागि विभिन्न उपाय अपनाउने गर्छन् । त्यही चक्करमा कोही जिम जान्छन् त कोही डाइटिङ तिर लाग्छन् । कतिपय विहान विहान खाली पेटमा कागती पानी सेवनतिर लाग्छन् त कोही दिनमा ५-७ कप ग्रीन टीको सेवन गरेरै भएपनि आफूलाई स्लिम देखाउनतिर लाग्छन् ।
जबकी साधारण तरिका अपनाएर पनि आफूले आफूलाई फिट तथा स्लिम देखाउन सकिन्छ । यसको लागि कुनै ठूलो कसरत पनि गर्नु पर्दैन । आफ्नो लागि केवल दुई मिनेट छुट्याउन जरुरी छ । किनकी हामीसित यस्ता थुप्रै काइदा छन्, जसको प्रयोगद्धारा दुई मिनेट भित्रमा नै आफूलाई स्लिम देखाउन सकिन्छ ।
आरामदायी जुत्ता छनोट गर्ने
शरीरलाई स्लिम तथा आकर्षक देखाउन जुत्ताको ठूलो भूमिका रहन्छ । सही जुत्ताको छनोटले मान्छे अग्लो देखिनुका साथै शरीर स्लिम देखिन्छ । त्यसका लागि जुत्ताको छनोट गर्दा छालाको रङ्ग अनुसार जुत्ता छान्नु पर्छ । त्यस्तै, हल्का खैरो, खरानी, न्युड तथा छाला अनुसारको रङ्ग पनि उपर्युक्त विकल्प हुनसक्छ ।
जुत्ताको प्रयोग गर्दा प्यान्टमा पनि विशेष ध्यान दिनु पर्छ । यस्ता जुत्तासित प्यान्ट वा टाइट्स प्रयोग गर्दा एकअर्कासित मिल्ने कलर प्रयोग गर्नु पर्छ । यसले दृष्टि भ्रम कायम गर्छ । र, व्यक्तिको उचाई पहिलेको भन्दा केही इन्च अग्लो भएजस्तो महसुस हुने गर्छ ।
जबकी कुनै पनि जुत्ता प्रयोग गर्दा एंकल स्ट्राप वाला जुत्ताको प्रयोग नगरेकै बेस हुन्छ । किनभने यस्ता जुत्ताको प्रयोगले मान्छे अग्लो देखिनुको सट्टा झन् होचो देखाउन सक्छ ।
लुगामा विशेष ध्यान दिने
स्लिम देखिनका लागि लुगामा विशेष ध्यान दिनुपर्छ । लुगा खरीद साइजमा ठूलो वा सानो लुगा छनोट गर्नु हुँदैन । किनकी यस्ता लुगााले शरीरलाई ढाक्नुको सट्टा उजागर गरी शरीर मोटो देखाउँछ । त्यसैले, प्रत्येक पल्ट लुगा खरीद गर्दा आफ्नो शरीरलाई ध्यानमा राखेर उचित साइजको लुगा खरीद गर्नु पर्दछ । यसले व्यक्तित्व आर्कषक बनाउनुका साथै स्लिम देखाउन मद्दत गर्छ ।
ढाड सिधा राख्ने
शरीरलाई आर्कषक तथा स्लिम देखाउन शरीरको मुद्रा (पोस्चर)को पनि ठूलो भूमिका हुन्छ । विशेषगरी, यस्ता मुद्राले मानिसको शान बढ्नुका साथै कम्मरको साइज पनि सानो देखिने गर्छ । जबकी अल्छी मुद्रामा बस्दा वा अढेर लागेर बस्दा शरीरको बनावट सानो देखिनुका साथै मोटो मात्र देखिदैन । स्वास्थ्य सम्बन्धि विभिन्न समस्या समेत निम्तिने गर्छ ।
परिरेखा खिच्ने
परिरेखा (कन्टावरिङ) ले अनुहारलाई सानो देखाउनुका साथै चिउँडो डबल देखिने समस्यालाई लुकाउन मद्दत गर्छ । त्यसको लागि गाढा र हल्का रङ्गको टोन कसरी प्रयोग गर्ने भन्ने जान्न आवश्यक छ । यसको प्रयोग गर्ने सबैभन्दा सरल उपाय भनेकै आफूलाई लुकाउन मनलागेको भाग सबै गाढा बनाउनु हो । र, जुन सुकै भाग देखाउन चाहनुहुन्छ, त्यसलाई हाईलाइट गर्नु हो ।
यसको लागि यसको प्रयोग गर्ने तरीका जान्न आवश्यक छ । यसको लागि सबैभन्दा पहिले हाईलाइटरको प्रयोग गर्नुपर्छ । त्यसपछि गाढा रङ्गको कन्टावरले बाँकी भाग छोप्नु पर्छ । त्यसरी कन्टावर प्रयोग गर्दा एउटा कुरा विर्सनु हुँदैन की अनुहारको किनारा अदृश्य हुनु पर्दछ । अनुहारमा जहिले पनि सावधानीका साथ ब्राइट मेकअप प्रयोग गर्नु पर्छ । उदाहरणका लागि, रातो लिपस्टिकले चिउडो तथा बंगाराको लाइनलाई हाइलाइट बनाउन सहायता प्रदान गर्छ ।
छालाको रङ हल्का वा गाढा बनाउने
छाला जति ट्यान भयो, छालाको अतिरिक्त पाउण्ड उत्ति नै कम देखिने गर्छ । र, छालालाई ट्यान देखाउने राम्रो विकल्प भनेको ब्रोञ्जरको प्रयोग हो । त्यसबाहेक यी सरल उपायद्धारा पनि छालालाई ट्यान बनाउन सकिन्छ ।
यसको लागि सबैभन्दा पहिले छालालाई सफा गर्ने र, मोइस्चराईजर क्रिमको प्रयोगद्धारा छालालाई मोइस्चराईज राख्ने ।
यदी छाला सुख्खा छ भने स्क्रबको सट्टा स्पञ्जको प्रयोग गर्ने । र, पटक पटक छालालाई मोइस्चराईज गर्ने । साथै, घुँडा र कुइनामा विशेष ध्यान दिने ।
सही कपडाको छनोट
कुनै पनि लुगा छनोट गर्दा त्यसमा प्रयोग गरिएको कपडामा विशेष ध्यान दिनुपर्छ । कमसल सामग्री प्रयोग गरिएको कपडाले शरीर भद्दा देखाउँछ । त्यस्तै, कसिलो लुगा लगाउँदा व्यक्ति मोटो देखिन्छ ।
यसबाहेक कपडाको छनोट गर्दा चारपाटे तथा जिक ज्याक आकारको लुगा प्रयोग गर्नबाट बच्नु पर्छ । किनकी यस्ता लुगाले शरीरको ढाक्नु पर्ने भागलाई छोप्नुको सट्टा झनै उजागर गर्दछ । जबकी लचिलो तथा सललल बग्ने कपडाले शरीरलाई राम्ररी कभर गर्नुका साथै शरीरलाई स्लीम देखाउन सहायता प्रदान गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
