कोस्टारिका बिरुद्ध ब्राजिल निकै बलियो, आज ब्राजिललाई अघि बढ्ने अवसर

काठमाडौं । रुसमा जारी विश्वकप उपाधिको मुख्य दाबेदार टोलीको रुपमा ब्राजिललाई हेरिएको छ । ब्राजिल युरोपेली टोली स्विट्जरल्यान्ड सँग १/१ गोलको बराबरीमा रोकिन पुग्यो ।

त्यो बराबरीको नतिजाले ब्राजिललाई प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न नै समूहगत चरणका बाँकी दुई खेलमा जित हात पार्नैपर्ने बाध्यता थपिएको छ । यद्यपि नतिजाको हिसाबले ब्राजिलले प्रतियोगिताको सुरुआत त्यो हैसियतमा गर्न सकेन, जुन उपाधि दाबेदार टोलीको हुनुपथ्र्यो । शुक्रबार मध्य अमेरिकी टोली कोस्टारिकाविरुद्ध समूहगत चरणको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्दा पनि ब्राजिलमाथि जितकै बाध्यता रहनेछ ।

Advertisement

यद्यपि यो खेल ब्राजिलका लागि धेरै कुराको अवसर समेत बन्न सक्छ । पहिलो खेलमा सर्वियासँग १/० गोलले पराजित भएको कोस्टारिका समूह ‘ई’मा कमजोर देखिएको छ । यी दुई टोलीबीचको अघिल्लो खेलको प्रतिस्पर्धा र पछिल्ला खेलमा हात पार्दै आएको नतिजाले पनि कोस्टारिकाविरुद्ध ब्राजिल निकै बलियो देखिएको छ । यही अवसरलाई प्रयोग गर्दै ब्राजिल रुस विश्वकपमा उपाधिको लयमा फर्कन सक्ने सम्भावना छ ।

विश्व स्तरका एकसेएक राम्रा खेलाडी रहेको ब्राजिल लगातार पछिल्लो १२ खेलमा अपराजित छ । यसैगरी कोस्टारिकाविरुद्ध हालसम्म भएका १० मध्ये नौ खेल ब्राजिलले जितेको छ । कोस्टारिकाले भने धेरै पहिले सन् १९६० मा मात्रै ब्राजिललाई पराजित गरेको थियो । विश्वकपको इतिहासमै पनि ब्राजिल कोस्टारिकाविरुद्ध निकै बलियो देखिएको छ ।

सन् १९९० को विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्दा कोस्टारिकाविरुद्ध १/० को जित निकालेको ब्राजिल सन् २००२ मा फेरि भेट हुँदा ५/२ ले विजयी बनेको थियो । फिफा बरियतामा ब्राजिल दोस्रो नम्बरमा छ भने कोस्टारिका २३ औं नम्बरमा छ । ब्राजिलले २१ औं पटकसम्म विश्वकपमा सहभागिता हुँदा ५ पटक विश्वविजेता बनेको छ भने पााँचौपटक विश्वकपमा सहभागि भएको कोस्टारिका विश्वकप वल्डकपको क्वाटरफाइनल सम्म मात्र पुगेको छ ।

त्यसमाथि ब्राजिल आफ्ना महत्वपूर्ण खेलाडी नेमारको ‘फिटनेस’ ले थप हौसिएको छ । चोटका कारण कोस्टारिका विरुद्धको खेल गुमाउन सक्ने चर्चाका बीच नेमारले बुधबार टोलीसँग पूरा समय अभ्यास गरेका छन् ।

More News last news
Loading...