फुटबलप्रेमी दर्शकहरुबीच चर्को द्वन्द्व मेस्सी र रोनाल्डोका फ्यानहरुबीच हुने गर्छ। यस्तो द्वन्द्व सोसल मिडियामार्फत् पनि झल्कने गर्छ। दुई फरक टिमबाट खेल्ने यी दुई सर्वकालीन उत्कृष्ट खेलाडीहरु दुई फरक देशबाट विश्वकपमा प्रतिनिधित्व गर्दैछन्।
मेस्सी बार्सिलोनाबाट खेल्छन् भने क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट। दुवै बीचको समानता चाहिँ दुवैले आफ्नो देशका लागि विश्वकप उठाउन पाएका छैनन्। दुवैले क्लबमा व्यवसायिक फुटबल मात्र राम्रो खेल्ने तर राष्ट्रिय टिमका लागि उपाधि जित्न नसकेको आरोप लागिरह्यो।
यद्यपि रोनाल्डोको पोर्चुगलले दुई वर्षअघि युरो कप भने जित्न सक्षम भयो। मेस्सीको अर्जेन्टिना भने सन् १९९३ देखि ट्रफीको खडेरीमा छ।
निराश भएर मेस्सीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणासमेत गरिकेका थिए। तर उनी फर्किए। यस पटक विश्वकपको पहिलो खेल खेल्नुअघि फेरि एक पटक सन्यासको कुरा आएको छ। सन्यासबारे सोधिएको प्रश्नको जवाफमा मेस्सीले भनेका छन्- ‘मान्छेहरु मलाई यो विश्वकप मेरो अन्तिम हुन्छ कि भनेर सोध्छन्। मलाई थाहा छैन। मैले यसबारे अहिले सोचेको छैन। यो महिना कसरी जान्छ र यो प्रतियोगितामा हामी कस्तो गर्छौँ त्यसमा यो निर्भर हुन्छ।’
आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध रोनाल्डोले दुई पटक अग्रता दिलाए। तर स्पेनले बराबरी गर्यो। अन्ततः स्पेनले लिएको अग्रता तोड्दै खेल बराबरीमा ल्याउन पोर्चुगल सफल भयो।
प्रतियोगिताको पहिलो ह्याट्रिक गरेर रोनाल्डोले आफ्नो सशक्त प्रदर्शन गरेर फ्यानहरुलाई खुसी बनाएका छन्। अब आज पालो मेस्सीको छ।
अर्जेन्टिना समूह चरणको पहिलो खेल आइसल्यान्डसँग खेल्दैछ।
मेस्सीले कस्तो खेल प्रदर्शन गर्लान्? आजको खेलको नतिजा जस्तो भए पनि मेस्सी राम्रो कि रोनाल्डो भन्ने बहस यो युगमा अन्त्य भने हुने छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
