सर्लाही । सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबारको फाइनल खेल खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण स्थगित भएको छ।
नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनल खेल अर्को सूचना नआएसम्म स्थगित गरिएको आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।
मध्यान्तर पछिको २२औं मिनेटमा सुदूरपश्चिमका ११ नं. जर्सीका अफ्रिकन खेलाडी एरोनालाई फिफा रेफ्रि सुदिस कुमार पाण्डेले रेडकार्ड देखाएपछि सूरु भएको विवादका क्रममा खेलाडीबीच नै कुटाकुट भएको थियो। लगतै उपस्थित अधिकांश दर्शक समेत मैदानमा छिरेर आर्मीका खेलाडीलाई कुटेका थिए।
आयोजक समितिका स्वयंसेवक र सुरक्षाकर्मीले मैदानबाट भिड तितरवितर पारेर आधाघण्टा पछि आर्मीका खेलाडी मैदानभित्र छिर्ने बितिकै रेफ्रि पाण्डेले आर्मीका १ नं. जर्सीका गोलकिपर विकास कुथु, २७ नं. का विकास तामाङ र ३२ नम्बरका दिपक गुरुङलाई रेडकार्ड देखाएका थिए।
लगतै आर्मीका कप्तान भरत खबाससहितका खेलाडी कल गर्नका लागि रेफ्रितर्फ बढ्दै गर्दा आयोजक समितिका पदाधिकारी मैदानभित्रै छिरेर रोक्न खोजेपछि आर्मीका खेलाडी र आयोजक समितिका पदाधिकारी बीच नै भनाभन भएको थियो। त्यसपछि आर्मीका खेलाडी मैदान छाडेर हिँडे भने मैदान भित्रै रहेका सुदूरपश्चिमका खेलाडीलाई बोक्दै दर्शकले हिपहिप हुर्रेको नारा लगाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
