एसईई परीक्षा आजदेखि सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (आज)देखि सुरु भएको छ । साधारण धारतर्फको परीक्षा १७ चैतसम्म र प्राविधिक धारतर्फको परीक्षा २० सम्म सञ्चालन हुनेछ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार निर्मित प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको छ । यो वर्षदेखि अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।  एसईई परीक्षा कक्षा १० को अन्तिम परीक्षा हो।

Advertisement

परीक्षामा ४ लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् । परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्।

काठमाडौंमा यो वर्ष सबैभन्दा बढी ९८ परीक्षा केन्द्र तोकिएको छ भने सबैभन्दा कम मनाङभरि एउटा मात्रै केन्द्र तोकिएको छ । यस वर्षदेखिअनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेड वृद्धि परीक्षामा समेत ग्रेड वृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रूपमा परीक्षा दिने व्यवस्था छ।

यस वर्षको एसईई परीक्षालाई केन्द्रीयस्तरमा लिइने अन्तिम परीक्षा भएको र अर्काे वर्षदेखि मात्रै सातवटै प्रदेशस्तरमा सो परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेशस्तरमा परीक्षा सञ्चालनका लागि समयमै प्रश्नपत्र तयार हुन नसकेकाले यो वर्ष केन्द्रीय स्तरमै परीक्षा हुन लागेको हो।

परीक्षा नियन्त्रण कार्यालयले काठमाडौं उपत्यकालाई एउटा क्षेत्र र उपत्यका बाहिरका ७४ जिल्लालाई अन्य तीनवटा क्षेत्रमा विभाजन गरी चार थरीका प्रश्नपत्र बनाएर परीक्षा लिन लागेको जनाएको छ। परीक्षामा चिट चोराउने, चोर्ने या अन्य अमर्यादित कार्य गर्ने जोकोहीलाई पनि १ लाख रुपैयाँ जरिमाना या ६ महिना कैद या दुवै गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

More News last news
Loading...