सातै प्रदेशका १,०५५ सुनौलो १००० दिनका आमा लाभान्वित

बाल स्वास्थ्य पोषणमा लगानी बढाउन आग्रह

काठमाडौं l नेपाल राष्ट्र बैंकको CSR Guideline–२०८१ अन्तर्गत सानिमा बैंक लिमिटेडको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यक्रम, मोरङको समन्वयमा सञ्चालित ‘Community-Based Maternal Nutrition Support and Anemia Screening Program’ सफलतापूर्वक सम्पन्न भएको छ।

‘स्वस्थ आमा, स्वस्थ शिशु, समृद्ध परिवार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमबाट सातै प्रदेशका सात स्थानीय तहका १,०५५ जना सुनौलो १००० दिन अवधिका गर्भवती तथा स्तनपान गराइरहेका आमा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यक्रममार्फत पोषणयुक्त खाद्य सामग्री वितरण, एनीमिया परीक्षण, मातृ स्वास्थ्यसम्बन्धी सचेतना तथा स्थानीय सरकारसँग नीति संवादसमेत सञ्चालन गरिएको थियो।

Advertisement

कार्यक्रमको उद्देश्य गर्भवती तथा स्तनपान गराइरहेका महिलाको स्वास्थ्य तथा पोषण अवस्था सुधार गर्नुका साथै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण तथा प्रारम्भिक बाल विकासका विषयमा थप उत्तरदायी र संवेदनशील बनाउनु रहेको थियो।

कार्यक्रम कोशी प्रदेशको उदयपुरस्थित त्रियुगा नगरपालिका, मधेश प्रदेशको सप्तरीस्थित राजगढ गाउँपालिका, बागमती प्रदेशको मकवानपुरस्थित बकैया गाउँपालिका, गण्डकी प्रदेशको तनहुँस्थित भानु नगरपालिका, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका, कर्णाली प्रदेशको कालिकोटस्थित रास्कोट नगरपालिका तथा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकामा १३७, राजगढ गाउँपालिकामा १४७, सुनवल नगरपालिकामा १५१, घोडाघोडी नगरपालिकामा १३१, रास्कोट नगरपालिकामा १८२, भानु नगरपालिकामा ९१ तथा बकैया गाउँपालिकामा २०८ जना गरी कुल १,०५५ जना सुनौलो १००० दिन अवधिका आमालाई VERTEX Foods द्वारा उत्पादन गरिएका पोषणयुक्त (Fortified) खाद्य सामग्री वितरण गरिएको थियो।

त्यसैगरी, १,०२७ जना आमाको हेमोग्लोबिन परीक्षण गरी रक्तअल्पता (एनीमिया) को अवस्था पहिचान गरिएको तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रमा मातृ स्वास्थ्य सुधार तथा एनीमिया न्यूनीकरणका दृष्टिले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सातवटै स्थानीय तहमा स्थानीय सरकार, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको सहभागितामा ७ वटा समन्वय तथा नेटवर्किङ बैठक सम्पन्न गरिएका थिए। बैठकहरूमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, बाल अधिकार तथा स्थानीय तहको भूमिकाबारे व्यापक छलफल भएको थियो। साथै स्थानीय नीति, योजना तथा बजेटमा बाल स्वास्थ्य र पोषणलाई प्राथमिकता दिनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

त्यसैगरी Multi-Sector Nutrition Plan (MSNP–III) तथा Golden 1000 Days Protocol मा आधारित ३६ वटा मातृ स्वास्थ्य, पोषण तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गरिएका थिए। ती कार्यक्रमहरूमा गर्भावस्थाको हेरचाह, सुरक्षित मातृत्व, स्तनपान, पूरक आहार, शिशु स्याहार, पोषणयुक्त खानपान, परिवारको सहयोगी भूमिका तथा प्रारम्भिक बाल विकासका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा स्थानीय सरकारसँग नीति संवाद, पैरवी तथा वकालत कार्यक्रम सञ्चालन गरिएको थियो। संवादमार्फत स्थानीय सरकारलाई बाल स्वास्थ्य, मातृ स्वास्थ्य, पोषण तथा सुनौलो १००० दिन अवधिसम्बन्धी कार्यक्रमका लागि थप बजेट विनियोजन गर्न, स्थानीय नीति तथा कार्यविधिको समीक्षा तथा परिमार्जन गर्न, पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन गर्न तथा बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।

कार्यक्रमका क्रममा अधिकांश स्थानीय तहले बाल स्वास्थ्य, पोषण, सुरक्षित मातृत्व, किशोरी स्वास्थ्य तथा प्रारम्भिक बाल विकासका कार्यक्रमलाई आगामी वार्षिक योजना तथा बजेटमा थप प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। केही स्थानीय तहले पोषणमैत्री पालिका, बालमैत्री स्थानीय शासन, पूर्ण खोप सुनिश्चितता, किशोरमैत्री स्वास्थ्य सेवा तथा मातृ स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख सहजकर्ता शुक्रराज पौडेलले मातृ तथा शिशु स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा स्थानीय सरकारको स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सुनौलो १००० दिनको अवधि बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि अत्यन्त महत्वपूर्ण चरण हो। यस अवधिमा आमाको स्वास्थ्य तथा पोषणमा गरिएको लगानीले बालबालिकाको जीवनभर सकारात्मक प्रभाव पार्छ। त्यसैले स्थानीय सरकारले बाल स्वास्थ्य, पोषण, सुरक्षित मातृत्व तथा प्रारम्भिक बाल विकासका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ।”

उहाँले बहुक्षेत्रीय पोषण योजना (MSNP–III), सुनौलो १००० दिन कार्यक्रम तथा बालमैत्री स्थानीय शासनका अवधारणालाई स्थानीय नीति, योजना तथा बजेटमा प्रभावकारी रूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उक्त कार्यक्रम नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना (MSNP–III), सुनौलो १००० दिन कार्यक्रम तथा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत लक्ष्य २ (शून्य भोकमरी), लक्ष्य ३ (स्वस्थ जीवन तथा समृद्धि) र लक्ष्य १७ (साझेदारी) हासिल गर्ने उद्देश्यसँग समेत आबद्ध रहेको आयोजकले जनाएको छ।

More News last news
Loading...