पूर्वमन्त्री एवं एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए। यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।

Advertisement

एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए। नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए। भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए। नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो।

More News last news
Loading...