११ वर्ष जिल्ला सभापति र हाल मेयर रहेका कोइराला खस आर्य तर्फबाट केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाली कांग्रेसमा लामो समय जिल्ला नेतृत्व सम्हालेका तथा हाल सुन्दरबजार नगरपालिकाका नगर प्रमुख रहेका कृष्णप्रसाद कोइराला पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका छन्। उनले खसआर्यतर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। कोइराला २०३८ सालदेखि विद्यार्थी राजनीतिमार्फत कांग्रेसको संगठनमा सक्रिय भएका थिए। २०४२ सालमा लमजुङ जिल्ला कार्यसमिति सदस्य बनेका उनी २०४८ सालमा क्षेत्रीय सदस्य, २०५४ सालमा क्षेत्रीय सभापति र २०५७ सालमा जिल्ला सचिव भएका थिए।

उनी २०६२ देखि २०७३ सालसम्म ११ वर्ष नेपाली कांग्रेस लमजुङको जिल्ला सभापति रहेका थिए। हाल उनी सुन्दरबजार नगरपालिकाका नगर प्रमुख छन्। कोइराला ९औँ महाधिवेशन (२०५४) देखि लगातार महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन्। लामो समय पार्टीको स्थानीय तथा जिल्ला संगठनमा जिम्मेवारी सम्हालेको अनुभवसहित उनीअहिले केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन्।

Advertisement

उम्मेदवारी दर्ता गरेपछि कोइरालाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा केन्द्रीयसदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताए। उनले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा निरन्तर क्रियाशीलनेता–कार्यकर्ताको सम्मान, हकहित र भूमिकाका लागि काम गर्ने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूले आफूलाईकेन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

आन्दोलनका क्रममा पटक–पटक जेल

कोइराला कांग्रेसका विभिन्न आन्दोलनमा सहभागी हुँदा पटक–पटक जेल परेका थिए। २०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनका क्रममा उनी जेल परेका थिए।त्यस्तै, २०६१ सालमा प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा पनि उनीजेल परेका थिए। २०६२/६३ को जनआन्दोलनका क्रममा गोली लागेर उनी घाइते भएका थिए। विभिन्न राजनीतिक आन्दोलनका क्रममा गरी करिब एक वर्ष जेल जीवन बिताएको कोइरालाको विवरण छ।

तीन विषयमा स्नातकोत्तर अध्ययन

कोइरालाले एमएड र एमए तहको अध्ययन गरेका छन्। उनले अर्थशास्त्र, नेपाली र मनोविज्ञान विषयमा उच्च शिक्षा हासिलगरेका छन्। लामो समय जिल्ला संगठनको नेतृत्वदेखि स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको भूमिकासम्म काम गरेका कोइराला अब कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित महाधिवेशनको प्रतिस्पर्धामा उत्रिएका हुन्।

More News last news
Loading...