दुर्घटनाले चकनाचुर पारेको जीन्दगी, मौरी र पशुपालनबाट हराभरा

सुमन खड्का  | मेरो घर गोरखाको शहीद लखन गाउँपालिका हो । २०७५ साल कात्तिक १३ गते म चितवनको पर्सामा गाउँका दाइहरुले सञ्चालन गरेको माछापालन व्यवसाय हेर्न गएको थिएँ । त्यो दिनको एउटा सामान्य यात्राले मेरो जीवनको दिशा परिवर्तन गर्छ भन्ने मैले कहिल्यै सोचेकै थिइनँ । कात्तिक १५ गतेको साँझ गोरखा फर्किने क्रममा रामनगरमा मैले चलाएको मोटरसाइकल ट्रकमा ठोक्किएर दुर्घटना भयो । त्यो एक दुर्घटना थिएन, मेरो जीवनको सबैभन्दा ठूलो परीक्षा थियो।

सडकमा म अचेत अवस्थामा लडेछु । शरीरको विभिन्न ठाउँबाट रगत बगिरहेको थियो रे । नजिकैको प्रहरी चौकीबाट आएको टोलीले मलाई तुरुन्तै चितवनको सरकारी अस्पताल पुर्‍याएछ । त्यहाँका डाक्टरहरूले भेन्टिलेटरमा राख्नुपर्छ भनेछन् । तर, त्यो अस्पतालमा खाली भेन्टिलेटर नभएकोले मलाई त्यहाँबाट भरतपुरको सीएमसी अस्पतालमा रिफर गरिएछ, जहाँ म पाँच दिनसम्म आईसीयू कक्षको भेन्टिलेटरमा अचेत अवस्थामै रहेँ ।

Advertisement

पाँचौं दिन राति म होशमा आएँ । आईसीयूमा रहेका मेसिनहरुको आवाज मेरा कानमा पर्दै आँखाले उज्यालो कोठा देख्न थाल्यो । मलाई लाग्यो, म कुनै अर्को संसारमा पुगेको छु । केही समयपछि डाक्टर र परिवारले मलाई दुर्घटनाको यथार्थ बताए । मेरो टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको कुरा थाहा पाएँ । शल्यक्रिया गरेर जीवन त बच्यो, तर म शारीरिक रूपमा कमजोर बनिसकेको थिएँ । त्यो क्षण मेरो जीवनको एउटा अध्यायको अन्त्यजस्तो लाग्यो ।

अस्पतालको आईसीयूबाट शुरू भएको मेरो सङ्घर्षले घर फर्कन तीन महिनाको समय लाग्यो । घर फर्केपछि पनि मेरो जीवन त्यति सजिलो थिएन । दुई वर्षसम्म म पूर्ण रूपमा डाक्टरले भने अनुसार बेड रेस्टमा रहेँ । शल्यक्रियाका कारण शरीरभित्र राखिएका प्लेटहरू झिक्न फेरि शल्यक्रिया गर्नुपर्ने थियो । दुर्घटनाभन्दा पहिले म ट्रेकिङको काम गर्थें । दुर्घटनापछि मेरो शरीरले त्यो काम पनि गर्न नसक्ने भयो । ट्रेकिङको पेशालाई बिदाइ गर्दा मन भारी भयो ।

आशाको बीउ : कृषि र पशुपालन

२०७६/०७७ सालतिर मेरो गाउँ शहीद लखन गाउँपालिका वडा नम्बर ८ मा बुढीगण्डकी जलविद्युत् आयोजनाले स्थानीयवासीहरु विस्थापित हुने क्रम तीव्र थियो । तर हाम्रो जग्गा डुबानमा नपर्ने भएकाले विस्थापित हुन परेन । मैले आफ्नै ठाउँमा कृषि र पशुपालनको सम्भावना देखेको थिएँ । मेरा बुबा कृषि क्षेत्रमा अति धेरै मेहनत गर्नुहुन्थ्यो र पहिलेदेखि नै गाउँको सफल र मेहनती किसानमा गनिनुहुन्थ्यो । बुबा आमाले घरमा केही भैँसी पाल्दै आउनुभएको थियो ।

मैले भैँसीपालनलाई व्यवसायको रुपमा अघि बढाउने सोच बनाएँ । मैले अव्यवस्थित भैँसी गोठलाई आधुनिक तरिकाबाट सुधार गरेर २० वटा माउ भैँसी अट्ने आधुनिक गोठ बनाएँ ।

बुटवलबाट केही उन्नत जातका मुर्रा भैँसी ल्याएर २०७७ सालको फागुनमा श्री कृष्ण कृषि तथा भैँसी फार्म दर्ता गरेँ । शुरूमा १८ वटासम्म माउ भैँसी पालेँ र दूध घिउ उत्पादन गर्न थालेँ । ती उत्पादनहरू गोरखा बजार र मनकामना मन्दिर परिसरको बजारमा बिक्री गर्थेँ । त्यसपछि मैले भैँसीपालन व्यवसायलाई गति दिन थालेँ ।

मौरी पालन : सफलताको अर्को खुड्किलो

२०७८ सालमा मेरो जीवनले अर्को मोड लियो । गाउँका भाइहरूले सुगाको बच्चा खोज्ने क्रममा रुखको टोड्कामा मौरी भेटेको कुरा सुनाउने गर्थे । शुरूमा म मौरीको नजिक जान डराएँ । तर मह खान पाइने आशाले घरमा भएको मुढे घार तयार गरेँ र मौरीलाई ल्याएर राखेँ ।

जङ्गलबाट खोजेर ल्याएको एक घारबाट शुरू भएको यो यात्रा अहिले ५३ घारसम्म फैलिएको छ । यसबीचमा मैले मौरी पालनसम्बन्धी विभिन्न तालिम लिएँ र आधुनिक घारमा मौरी पाल्न थालेँ । मह उत्पादनले राम्रो आम्दानी दिन थाल्यो ।

२०७९ सालमा मौरी व्यवसाय थप गरेँ र अहिले म आफ्नो अनुभवलाई गाउँका अरु किसानसँग बाँड्दै गाउँपालिका, नगर पालिका, सङ्घ संस्था, समूह, सहकारी र किसानलाई तालिमसहित अनुदानमा मौरी वितरणको समेत काम गर्दै आएको छु । यो सङ्घर्ष र परिवर्तनको यात्राले मलाई मात्र होइन, मेरो समुदायलाई पनि नयाँ सम्भावना दिएको छ । आज मेरो मासिक आम्दानी एक लाख रुपैयाँभन्दा धेरै छ ।

त्यो दुर्घटनाले मेरो जीवनका धेरै सपनाहरु चकनाचुर पारेजस्तो लाग्थ्यो, तर मौरीपालन र पशुपालनले मलाई नयाँ जीवन दिएको छ । मेरो यो कथा सङ्घर्षको हो, तर सफलताको पनि हो । मेरो अनुभवले भन्छ, ‘जीवनले जति ठूलो परीक्षा लिन्छ, उति नै ठूलो अवसर पनि दिन्छ।’

More News last news
Loading...