काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताए।
बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताउँदै उनले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताए । उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भुमिका खेल्नुपर्ने पनि बताए।
स्वास्थ्यमन्त्री पौडेलले उनले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताए । उनले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताए।
मन्त्री पौडेलले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेको बताउँदै सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
