काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए ।
त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । अहिले गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तो छ प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीको कार्यविभाजन
एमालेबाट
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादीबाट
नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपाबाट
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादीबाट
भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
धनबहादुर बुढा, सहरि विकास
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
रवि लामिछानेले सम्हाले गृहको कमाण्ड
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । लामिछाने १३ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा पुगेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्तागठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा रविको ‘कमब्याक’ भएको हो ।
यसअघि १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा पनि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए। तर, १३ माघ ०७९ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट उनले सांसद पद गुमाएका थिए । त्यससँगै उनको मन्त्री तथा पार्टी सभापतिको पदसमेत गुमेको थियो ।
पछि १० वैशाखमा भएको उपनिर्वाचनमार्फत उनी पुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै प्रतिनिधिसभामा पुगे । त्यसलगत्तै उनले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा पनि गृहमन्त्री पाए सरकारमा जाने प्रयास गरेका थिए। तर, गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएनन् ।
त्यसो, त आफ्नो पद गएसँगै उनले पार्टीलाई सरकारबाट फिर्ता बोलाएका थिए भने पछि सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए । यसपटक अचानक प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाउँदा उनी पुनः गठबन्धनमा जोडिए भने १३ महिनापछि गृहमा ‘कमब्याक’ गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
