काठमाडौं । नेपाल यू–१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो । मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ–आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् । सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६–६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ ।
त्यस्तै न्यूजिल्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शून्य अंक रहेको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो।
अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भए पनि सेमिफाइनल पुग्न असफल हुनेछ । योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
