काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम जाजरकोट भूकम्प प्रभावितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने भएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
यसअघि सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो। भुकम्प प्रभावितका लागि राहत कोष स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ।
साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ। गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको थियो । उक्त भुकम्पमा परि १५७ जनाले ज्यान गुमाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
