काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा बिहीबारदेखि चैत १० गतेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
सडक मर्मतको कामलाई छिटो सम्पन्न गर्न भन्दै दुईतर्फी सवारी संचालनमा रोक लगाइएको हो । कान्ति लोकपथमा आवागमन बन्द भएपछि हेटौंडा–काठमाडौं चल्ने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकिएको छ ।
जसअनुसार हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गरिने भएको छ ।
दमौली–विमलनगर सडक राति चार घण्टा बन्द
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीदेखि विमलनगरसम्मको सडकखण्ड बिहीबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले भित्ता काट्नका लागि राति १२ बजदेखि बिहान ४ बजेसम्म दमौली–विमलनगर सडकखण्ड बन्द गर्न लागेको हो ।
भित्ता काट्न दश दिन लाग्ने अनुमान गरिएको छ । सो सडकखण्डमा डाइभर्सन बनाउने ठाउँ नभएकाले रातिको समयमा आवागमन रोकेर भित्ता काट्नु परेको आयोजनाले जनाएको छ ।एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतीका काम भईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
