राष्ट्रपतिमा दुई चन्द्रको भिडन्त : कुन दलको मतभार कति ?

काठमाडौँ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)ले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न मतदान हुँदै छ ।

Advertisement

कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको मुख्य साथ छ । यसैगरी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पौडेलले पाएका छन् ।

यस्तै, एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । तर, एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षामा छ ।

राष्ट्रपति पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।

एमाले उम्मेदवार नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकहरूमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।

अहिलेको मतभार कस्तो छ ?

राष्ट्रपतिको निर्वाचनमा मत हाल्नका लागि संघीय संसद् र प्रदेश संसद्‌मा गरी १४ दलको प्रतिनिधित्व छ। त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि छन्। संघीय संसद्‌मा ९९ र सात प्रदेश सभामा १७६ सांसद रहेको नेपाली कांग्रेससँग सबैभन्दा बढी मत छ। कांग्रेससँग मात्रै १६ हजार २६९ मत छ।

त्यस्तै, एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मत छ। त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ। उनीहरुसँग कुल १०५० मत छ। स्वतन्त्रमध्ये केही सांसदहरु दल निकट मानिन्छन्, गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन्। तर, उनीहरुको मत स्वतन्त्र अन्तर्गत नै राखिएको छ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित तीन सांसद् छन्। उनीहरुको मत २३७ छ। तीनमध्ये एक विमला राई पौड्याल एमाले निकट र नारायण दाहाल माओवादी केन्द्र निकट हुन्। अर्का सांसद वामदेव गौतमले एमाले परित्याग गरेर थिए। उनलाई गठबन्धन निकट मानिन्छ।

राष्ट्रपतिको निर्वाचनमा नयाँ सत्ता गठबन्धन बनेको र सहमतिमै कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल तय भएपछि सोही उम्मेदवारले जित्ने सम्भावना छ। गठबन्धनमध्ये पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत नै जितको लागि पर्याप्त हुन्छ। यी तीन दलसँग मात्रै कुल २६ हजार ४९२ मत छ। त्यसमा, लोसपा, राष्ट्रिय जनमोर्चा, जनमत, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका दलहरु मिसिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि कांग्रेस नेतृत्वको गठबन्धनप्रति सकारात्मक देखिएको छ । रास्वपाको पनि पत जोड्दा सत्ता गठबन्धनको राष्ट्रपतिको उम्मेदवार थप बलियो हुनेछन्।

यद्यपि, कतिपय सांसदहरु मतदानमा सहभागी हुँदैनन्। कतिपयले मत दिन पाउँदैनन्। विगतको निर्वाचनमा पनि त्यस्तो भएको थियो। अर्कोतिर, कैयौँ साना दलले आफ्नो तर्फबाट उम्मेदवार उठाउँदैनन्। बरु ठूला दलका उम्मेदवारलाई सहयोग गर्छन्। त्यसले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाउन सक्छ। तर, मतदाता र मत निश्चित हुने भएकाले जितहारमा उल्टिने सम्भावना भने कमै हुन्छ।

More News last news
Loading...