काठमाडौं । नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार आज बिहान बसेको पार्टी सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने र राष्ट्रपतिको चुनावसम्म अहिलेकै गठबन्धन कायम हुने निर्णय गरेको हो ।
बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभइ राष्ट्रपतिको मात्रै विषय भएकाले २५ गतेसम्म पर्खने निर्णय भएको उहाँको भनाइ छ ।
यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । गुरुङले भन्नुभयो, ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको चुनावसम्म हामी छलफल र संवाद गर्दै सहकार्यको वातावरण बनाउँछौँ ।’
सुवास नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार
नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उम्मेदवार तय भइसकेका छन् । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
यसैगरी, बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फागुन २५ गतेसम्म यथावत् नै राख्ने निर्णय गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
