काठमाडौं । महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो । शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताउनभयो।
उहाँले महाशिवरात्री भक्तजनलाई पूजा आराधनाको लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताउनुभयो। उहाँले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताउनुभयो ।
पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने छ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुने छ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहने छन् ।
पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेन छन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने छ ।
त्यस्तै, जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहने छ ।
त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन, मित्रपार्क-जयवागेश्वरी-इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट-१ लाइन, बत्तिसपुतली-गौशाला, एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन अघिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहने छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
