काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। गएको मंसिर ४ को निर्वाचनपछि पहिलो पटक प्रदेशमा कांग्रेसका मुख्यमन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त मुख्यमन्त्री शाहको शपथ भोलि
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए।प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
