काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ।
आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।
राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
