काठमाडौं । चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन्। आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन्।
गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनको भनाई छ । गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन्।
सो अवसरमा गौतमले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिईन् । उनले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरुका पाइला चल्ने प्रण गर्दै पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहने पनि विश्वास दिलाएकी थिईन् ।
यस्तो छ उनको सम्बोधन :
श्रद्धय अध्यक्ष श्री रञ्जिता श्रेष्ठज्यू, पार्टी पदाधिकारीज्यूहरु, आदरणीय जनसमूदायहरु, महिला, भद्र तथा सज्जन व्यक्तित्वहरु । यहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट जुझारु अभिवादन छ। मैले आजकै मितिबाट यस गौरवशाली पार्टीमार्फत आफ्नो राजनीतिक जीवनको अध्याय सुरु गरेको छु । मलाई विश्वास गरेर यस पार्टीमा स्थान दिनुहुने श्रद्धय अध्यक्षज्यूप्रति आभारी छु । मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेको छु । म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईँमान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो । हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरुको आवाज बोल्नेछ । हामी बेसहाराहरुको साहारा बन्नेछौं । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहनेछौं ।
नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको छ । यसले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको कुरा निर्वाचनमा यसले प्राप्त गरेको सफलताबाट नै पुष्टि भएको कुरा यहाँ मैले भनिरहनुपर्दैन् । यस पार्टीले सार्वजनिक गरेको आफ्नो उद्देश्यअनुरुप स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरालतको स्थापना गर्नु आजको आवश्यकत्ता हो ।
पार्टीले बोकेको मूल उद्देश्यबमोजिम दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । अब नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालिन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गरेको छ । यस कुराले मेरो मन छोएको छ । यो दल रोज्नुको अर्को मुख्य कारण पनि यसले बोकेको यही उद्देश्य हो ।
मलाई देशका पूराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु । आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो । अग्रजहरुको आर्शिवाद, सल्लाह र सुझाव अनि युवाहरुको नवीनतम सोच लिएर हामी यस पार्टीलाई अरु दलभन्दा फरक रुपमा उभ्याउने छौं । देश र जनताको जीवनस्तर उकास्ने दायित्वबोधका साथ हामी सबै सामूहिक भावनाले अघि बढ्ने छौं।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
