अब सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा, गठबन्धन मजबुत

काठमाडौं । संसदको सभामुखमा नयाँ गठबन्धनको तर्फबाट एमाले नेता देवराज घिमिरे चुनिएपछि राष्ट्रपति निर्वाचनमा दलहरूको समीकरण कस्तो होला भन्नेमा चासो देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदको निर्वाचन मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन्छ । पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत दिएपछि नयाँ समीकरण बन्नेमा आशावादी कांग्रेसको पछिल्लो रणनीति पनि असफल बन्ने देखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रति सांसदको मतभार ७९ हुन्छ । यसैगरी प्रदेशसभाका सांसदको मतभार हरेक सांसदको ४८ रहेको छ । यी सबैको मतभारको बहुमत अंक ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ । प्रतिनधिसभा २७५, राष्ट्रिय सभा ५९ गरी ३३४ सांसदको मतभार २६ हजार ३ सय ८६ हुन्छ । यसमा राष्ट्रिय सभाका एक सांसदको पद रिक्त छ भने प्रतिनिधिसभाका एक सांसद निलम्बित छन् । यसैले ३३२ सांसदको मतभार २६ हजार २ सय २८ हुने छ ।

Advertisement

प्रदेशसभाका प्रत्यक्षका ३३० र समानुपातिकका २२० गरी ५५० सांसदको मतभार २६ हजार ४०० हुन्छ । यसरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको २६ हजार २२८ र प्रदेशसभाको २६ हजार ४०० गरी ५२ हजार ६२८ कुल मतभार हुन्छ । यही मतभारबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने छ । यो कूल मतभाररको बहुमत अर्थात २६ हजार ३१४ मत कटाउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुने छन् ।

गत पुस १० गतेमा प्रधानमन्त्री चयन हुँदा ७९ सीटको एमाले, ३२ सीटको माओवादी, २० सीटको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सीटको राष्ट्रिय प्रजातन्त्र पार्टी, १२ सीटको जनता समाजावदी पार्टी, ६ सीटको जनमत, ४ सीटे नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको थियो ।

अहिले ठूला दलका रुपमा कांग्रेस र नेकपा एकीकृत समाजवादी मात्रै विपक्षीजस्तो देखिएका छन् । यस्तोमा राष्ट्रपतिको चुनावमा १५ हजार २३३ भएको एमाले, ७६९७ मतभार भएको माओवादी, २४५० मतभार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, १९२२ मतभार भएको जनता समाजवादी, १५८० मतभार भएको राष्ट्रिय स्वतन्त्र, १२४२ मतभार भएको जनमत र ८६१ मतभार भएको नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिँदा सत्ता गठबन्धनले सहजै बहुमत पुर्‍याउने देखिन्छ । यी दलहरूको कुल मतभार ३० हजार ९८५ पुग्ने देखिन्छ ।

यो भनेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि निर्वाचक मण्डलबाट ल्याउनुपर्ने २६ हजार ३०० मतभन्दा ५ हजारले बढी हो । यसैले यो गठबन्धन कायम हुँदा कांग्रेस र नेकपा एकीकृत समाजवादीले चाहेर पनि राष्ट्रपतिको चुनावलाई आफू अनुकूल बदल्न सक्दैनन्, किन की कांग्रेस १६ हजार १४२, नेकपा एस २५७४ र लोसपासँग ८२७ मतमात्रै छ ।

More News last news
Loading...