सरकार विस्तार आज : कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । सरकार बनेको एक महिना पुग्दै गर्दा पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे सरकार विस्तार गर्दै छन् । सोमबार सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएपछि सरकार विस्तारको बाटो खुलेको हो । उक्त सरकारी गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भने बाहिरिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो।

Advertisement

नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ। एमालेबाट विष्णु पौडलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्रलायको जिम्मेवारी पाइसकेका छन्। बाँकी तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। आजको सहमतिअनुसार एमालेले थप चार मन्त्री पाउनेछ। यस पार्टीले अर्थ, स्वास्थ्य, रक्षा, परराष्ट्र, भूमि सुधार, उद्योगलगायतका महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ।

को–को बन्दै छन् मन्त्री ?

एमालेले प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ। एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन्। त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन्। उनीहरूको विभाग तोक्न बाँकी छ।

माओवादीमा सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ। तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन्। एक राज्यमन्त्रीमा भने डाक्टर तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन्।

राप्रपाबाट उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन्। प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ।

सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ। खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने जनाइएको छ। यस अघि नै जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनिसकेका छन्।

More News last news
Loading...