काठमाडौँ । सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ।
इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
