काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ। मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो।
बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो । नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ ।
बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ।
चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
