४४ ‌औं प्रधानमन्त्रीमा नियुक्त दाहाल, को हुन उनी ?

काठमाडाैं । नेपालकाे ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएकाे छ। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुएकाे थियाे । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएकाे थियाे।

Advertisement

यस्ताे छ राजनीतिक यात्रा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिएकाे थियाे । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गर्नु भएको थियाे ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ । वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गर्नु भएका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।

उहाँ नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहनु भएको थियो ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभएकाे थियाे । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

वि.सं. २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो ।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहां उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित हुनु भएकाे थियाे उहाँ ।

त्यस्तै उहाँ २०७४ काे निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर संघीय सांसद हुनुभएकाे थियाे । त्यसैगरी उहाँ २०७९ काे निर्वाचनमा गाेरखाबाट जितेर संघीय संसद भई प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकाे हाे ।

More News last news
Loading...