काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिनुभयो। बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भन्नुभयो– ‘तयारी लगभग पुरा भएको छ ।’
उहाँले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताउनुभयो। त्यसक्रममा उहाँले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो।
त्यस्तै, उहाँले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ।
साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।
निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
