स्याङ्जा । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । दलका प्रतिनिधिहरु आफ्ना–आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा होमिएका छन् । दुई संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा पनि चुनावी माहौल तातेको छ।
स्याङ्जा क्षेत्र नं १ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका राजु थापा र नेकपा (एमाले)का नारायण प्रसाद मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापासँग एमालेका मरासिनीको भिडन्त हुन लागेको यो तेस्रो पटक हो ।
यसअघि २०७० र २०७४ मा पनि यी दुई नेताहरु निर्वाचनमा आमनेसामने भईसकेका छन् । जसमा २०७० मा थापा विजयी भएका थिए भने २०७४ मा मरासिनी बिजयी भएका थिए । २०७४ मा बाम गठबन्धन रहेका कारण १० हजार वढी मतले बिजयी भएका मरासिनी लगातार दोश्रो पटक संसद् छिर्ने दाउमा छन् ।
उता गठबन्धनका उमेद्वार थापा यसपटक निर्वाचनमा हारको बदला लिने दाउँमा छन् । स्याङ्जाली मतदाताहरुका अनुसार यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धनको साथ पाएका थापालाई केही सहज भने देखिन्छ । नेकपा (एमाले) फुटिसकेको अवस्थामा माधव नेपालको समाजवादीका तर्फबाट कुनै पनि उम्मेदवार नहुनु र माओवादी केन्द्रको भोट पनि थापाले पाउने हुँदा थापालाई धेरै सहज हुने अनुमान गर्न सकिन्छ ।
त्यसो त, थापा नेपाली कांग्रेसको जिल्ला सभापति भईसके पश्चात भएको गत स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्ने हो भने पनि एमालेको तुलनामा कांग्रेस बलियो देखिन्छ । बर्षौसम्म लालकिल्ला बनाउँदै आएको पुतलीबजार नगरपालिकामा बिजयीको झण्डा गाड्नु र विगतमा धेरै मतान्तरले अन्य पालिकाहरुमा पराजय भोग्दै आएकोमा झिनो मतले मात्र पराजीत हुनुलाई जितको अर्को आधार मान्न सकिन्छ ।
पार्टीभित्रको आन्तरिक राजनीतिमा सफलता हात पार्न नसकेका मरासिनीलाई यसपटको निर्वाचनमा पनि धक्का लाग्न सक्ने कतिपयको बुझाई छ । नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमालेकी सचिवसमेत रहेकी (हाल क्षेत्र नं २ बाट उम्मेदवार) पद्मा अर्याल सँग चिसिएको राजनीतिक सम्बन्ध र स्थानीय निर्वाचनमा भएका अन्तर्घातको कारण पनि उनलाई केहि असहज भने देखिन्छ ।
यद्यपी, उनी लगातार दोश्रो पटक सांसद बन्ने दाउँमा छन् । विकासमा दृष्टिकोणले मरासिनी सांसद रहँदा मात्र जिल्लाबासी माझ रहने तर थापा सांसद् रहँदा होस् वा नरहँदा सदैव जिल्लाबासीका माझमा रहने भएकाले पनि थापाले चुनाव जित्ने अनुमान स्थानीय मतदाताको छ ।
२०७० को निर्वाचमा बिजयी भएर गर्न अधुरा रहेका कतिपय योजनाहरु पुरा गनुपर्ने भएकाले स्याङ्जाबासीको साथ आफूलाई रहने थापाको विश्वास छ । कतिपय आफूले शुरु गरेका योजनालाई अझ बिकास गर्न आफ्नो आवश्यकता रहेको मरासिनीको दाबी छ ।
यता, कांग्रेसको आन्तरिक राजनीतिको कुरा गर्ने हो भने, जिल्ला अधिवेशनका बेला भएका मनमुटावलाई थापाले आफू सभापति भईसकेपछि लयमा फर्काईसकेका छन् । जसको ज्वलन्त उदाहरणका रुपमा स्थानीय तहको निर्वाचनको परिणामलाई पनि हेर्न सकिने एक मतदाताले बताए । तेश्रो पटक आमनेसामने हुन लागेका यी दुई उम्मेदवारको बिषयमा चुनाव अघि जे जस्तो विश्लेषण गरिएतापनि कसले बाजी मार्ला भनेर मंसिर ४ लाई पर्खनुको विकल्प छैन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
