काठमाडौं । नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३५ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट ३६३ नमुनाको परीक्षण गरिएको थियो ।
त्यसक्रममा भने संक्रमण देखिएन। पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ४८ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार ६८२ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७१६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।
पछिल्लो समय, नेपालमा डेंगी संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।
डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।
डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
