काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने भएको छ। दसैं र तिहारलगायत ठुला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो।
यस्तै, दुर्घटना भई बिरामीको हवाई मार्गबाट अस्पतालसम्म लैजानु पर्ने भएमा यातायात व्यवसायी महासंघले नै खर्च बेहोर्नुपर्ने छ। सरकारले शुक्रबार सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण एवं समाधानका लागि समन्वय गर्न गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।
समिति गठनको भोलिपल्ट शनिबार (आज) को समिति बैठकले सार्वजनिक यातायातबाट हुने यात्रा सुरक्षित र व्यवस्थित गर्न १४ बुँदे निर्णय गर्दै बीमा र सवारी यान्त्रिक जाँचलाई कडाइका साथ लागू गर्ने उल्लेख गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा समिति संयोजक पोखरेलका अनुसार बीमा र यान्त्रिक परीक्षण अनिवार्य गर्नेबाहेक गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयोजनमा राजमार्गमा टाइम कार्ड लगाउने निर्णय भएको छ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र छतमा राखेर यात्रा गराउन रोक लगाइने छ। निर्णय कार्यान्वयन भए/नभएकोबारे प्रहरीले नियमित जाँच गर्ने पनि उल्लेख छ । लामो दुरीका हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायत व्यवस्था मिलाउनु पर्नेछ।
तीव्र गतिमा सवारी चलाए तत्कालै प्रहरीलाई खबर गर्न सकिने र त्यसका लागि हटलाइन व्यवस्था मिलाइने उल्लेख छ। आइतबारबाटै यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा उपत्यकाका मुख्य मुख्य स्थानहरूमा यान्त्रिक परीक्षणको व्यवस्था मिलाउने छ।
यस्तै मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने प्रवृत्ति निरुत्साहित गर्न फिल्डमै किटबाट परीक्षण गरिने छ । लागूपदार्थ प्रयोग गरे/नगरेको पत्ता लगाउन प्रहरीको लागू औषध नियन्त्रण ब्युरोबाट टोली खटिने उल्लेख छ ।
राजमार्ग तथा अन्य सडकमा दुर्घटना भए नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई तयारी हालतमा राखेर परिचालन गराउन मिल्ने गरी व्यवस्था गर्न पनि भनिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
