नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको विजयी शुरुवात

काठमाडौं । निर्धारित मितिअगावै आयोजना भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको आजको पहिलो खेलमा एनआरएनएले विजयी शुरुवात गरेको हो। वर्षाका कारण खेल ६ ओभरमा घटाएर खेलाइएको थियो।

Advertisement

७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो। सुदूरपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए। यसबाहेक कप्तान राजु रिजालले ११ रन बनाउँदा वसन्त खत्रीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन।

एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले ३र३ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको एनआरएनएका लागि सागर पुनले विस्फोटक पारी खेले। एनआरएनले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो।

एनआरएनएका सागर पुनले सर्वाधिक ४६ रन बनाए। उनले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सुनम गौतमले २४ रनको पारी खेल्दा अन्य खेलाडीले भने राम्रो स्कोर गर्न सकेनन्।

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान २ विकेट लिए।

आजै मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको गण्डकी प्रदेश र मधेश प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल टस पनि नभई रद्द भएको छ भने त्रिवि मैदानमा तय भएको दोस्रो खेल पनि भिजेको मैदानका कारण रद्द भयो।

प्रतियोगितामा शुक्रबार पनि ४ खेल हुँदैछन्। त्रिवि मैदानमा एनआरएन र एपिएफ तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ भने मूलपानीमा नेपाल पुलिस र मधेश प्रदेश तथा दोस्रो खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।

More News last news
Loading...