काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना भइरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । पहिलो हाफ भारी वर्षाले प्रभावित गरेको थियो । तर, खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
त्यसअघि ११ औं मिनेटमा हिरा कुमारी भुजेलको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो। खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको जित दिलाईन् । भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
