काठमाडौँ । नेकपा (एमाले) र एकीकृत समाजवादीका गुल्मी जिल्ला कमिटीबीच पार्टी एकताको घोषणा भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको छ।
नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन्।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको दाबी गरे।
एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले वामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताए।
एकीकृत समाजवादीका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदीप घिमिरेलगायतका एक दर्जनभन्दा बढी नेता एमालेमै फर्किएको एमालेको दाबी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
