काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिन थालेको छ । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यान समेत गएको छ । विगत बर्षको दाजोमा यो बर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षणका लागि आएका बिरामीमा डेंगु प्रमाणित हुनेक्रम बढ्दो रहेको र अस्पतालमा जटिल अवस्थामा पुगेका बिरामीलाई संघन उपचार कक्षमै राख्नुपर्ने अवस्था रहेको र संघन उपचार कक्षको अभाव बढ्दै गएको अस्पतालले जनाएको छ।
यो साता मात्रै टेकु अस्पतालमा डेंगु संक्रमित बिरामी २ सय ९५ जना भर्ना भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ को जनवरी देखि शुक्रवारसम्म ७२ जिल्लामा फैलिएको डेंगु भाईरसका कारण २ हजार ८ सय २७ जना बिरामी परेका छन् ।
उपत्यकामा ललितपुरमा अत्याधिक मात्रामा संक्रमितहरु देखिएको छ भने काठमाडौ, धादिङ, रुपन्देहीमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ ।
सतर्कता नअपनाएमा डेंगुले भयानक रुप लिइ धेरैको ज्यान जान सक्ने विशेषज्ञहरुको भनाइ रहेको छ । डेंगु एडिस लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । यतिबेला एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको स्वास्थ्य विज्ञहरुको भनाईछ ।
डेंगु के हो ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स-साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
