काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको अझै टुंगो लागेको छैन । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।
नेताहरुले सिट बाँडफाँटको मोडालिटी समेत तयार गर्न सकेका छैनन् । ९ भाद्रमा अर्को बैठक बसी सिट बाँडफाँट टुंग्याउने सहमति भएपनि कुरा मिल्न कठिन छ । नेपाली काँग्रेस एक सय, माओवादी ५०, नेकपा एस ३० सिट दाबी गर्दै प्रस्तुत भएका छन् ।
सिट बाँडफाँट गर्दा सत्ता गठबन्धनबीच हाल जुन दलको निर्वाचित सांसद छन् सोही दलबाट साझा उम्मेदवार बनाउने र बाँकीमा मात्र बाँडफाँट गर्ने विषय उठेको छ । बाँकी सिटमा काँग्रेसलाई ६० र गठबन्धनका अन्य दललाई ४० सिट दिने गरी कुरा भएको छ । यस्तो मोडालिटी तयार गरेमा काँग्रेसले ७५ सिटभन्दा बढी पाउँदैन ।
काँग्रेसले कम्तिमा ९० सिटलाई बटमलाइन बनाएको बुझिएको छ । माओवादी अध्यक्ष प्रचण्डले काँग्रेसले ८३ सिट र बाँकी दलले ८२ सिट गर्ने गरी कुरा उठाएको बुझिएको छ । सम्भवत यसैमा सहमति हुनसक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
