काठमाडाैं | नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरीप्रति सम्मान प्रकट गर्न पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेसले यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरू सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यसैगरी कांग्रेसले भदौ ६ गते सोमवार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व भएको नेताहरूले बताएका छन् । गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा शनिवार राति निधन भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
