संयुक्त सैन्य अभ्यासका लागि नेपाल आइपुग्यो अमेरिकी सेना

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने भएको छ । एक्स व्यालेन्स नेल २२-५५३० नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ ।

Advertisement

रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्रीसिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छ ।

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम र अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित सोमवार नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

More News last news
Loading...