दिल्लीबाट प्रचण्डको उद्घोष ‘१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ’

काठमाडौँ l सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

Advertisement

यस क्रममा उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए ।

साथै त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका थिए।

अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने बताए। अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका थिए ।

उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राखेका थिए।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार भारत भ्रमणमा गएका हुन्। यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

More News last news
Loading...