उदयपुर l गैडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएकाे छ ।
चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।
मृतक कटुवालको शव त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए।
मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो। श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो।
बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
