काठमाडौँ । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ।
यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने गुरुङले बताए। उनका अनुसार चैत ९ र १० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
यस्तै चैत ७ गते पोलिटब्युरोको र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
