पीएसजी दोस्रो स्थानको निससँग पराजित, रियल मड्रिडको पुनरागमन

काठमाडौं l फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे ।

भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो ।

Advertisement

जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।

चेल्सी र एस्टन भिल्लाको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् । शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक -एक गोल गरे ।

जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ ।अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो ।

रियल मड्रिडको पुनरागमन जित

स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९औं जित निकालेको हो ।

रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे । यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए ।

जितसंगै रियलले दोस्रो स्थानको सेभियामाथी आठ अंकको अग्रता बनाएको छ । रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ ।

More News last news
Loading...