निर्वाचनमा भागलिने दलहरुको नामावाली २६ गतेभित्र प्रकाशन गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने भएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

Advertisement

यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ।

मतदाता नामावलीमा त्रुटि सच्याउन आग्रह

त्यस्तै निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरेको छ ।

मतदाता नामावली सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन आग्रह गरेको छ ।

‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने जस्ता कृयाकलापहरु फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साईटमा हेर्न सकिने आयोगले जनाएको छ ।

More News last news
Loading...