काठमाडौं । स्थानीय निर्वाचनको मिति घोषणा गर्न पार्टीभित्रबाटै दबाब परेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नु भएको छ ।
सभापति देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा रहेको छ ।
बैठकको कार्यसूची तय नभए पनि स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचन केही समय पर सार्नुपर्ने दबाब प्रधानमन्त्री देउवालाई दिएका छन् ।
तर यता उहाँकै पार्टीका महामन्त्री गगन थापा तथा नेता शेखर कोइराला पक्षले भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आउनुभएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
