काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
हिमालयन एयरलाइन्सको कार्गो विमानमा स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि फर्किएका छन् ।
बैंकक र चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।
पार्टी महासचिवमा दाबी स्वभाविक : पुन
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् ।
यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
